घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिल्यो : कप्तान पौडेल

 


काठमाडौँ — स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्विप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको प्रतिक्रिया दिएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटमा रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताए ।

नेपाललाई रोमाञ्चक जित दिलाएपछि कप्तान रोहितले आफूलाई निकै राहत मिलेको बताए । यही श्रृंखला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताए । उनले यूएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । यस्तै दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको पनि जानकारी दिए ।


यसैबीच नयाँ प्रशिक्षक नियुक्त भएसँगै नेपाली टोलीले ब्याटिङमा सुधार सुधारको संकेत दिएको छ । यसै श्रृंखलाबाट नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा पनि उल्लेख्य सुधार आएको छ । यससँगै नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न पनि सफल भएको छ । श्रृंखलाको अन्तिम खेलमा सफलता निकालेपछि पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफू पनि खुसी भएको देशाईले प्रतिक्रिया दिए ।

प्रशिक्षकको रुपमा नियुक्त भएपछि देशाईले आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयासमा मिलेको सफलतामा आफू खुसी भएको बताएका थिए । नेपाली खेलाडी पनि प्रतिष्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास दिएको पनि प्रशिक्षक देशाईको भनाइ थियो ।


मंगलबार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो । अब लिग–२ श्रृंखला अन्तर्गत खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले युएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्नेछ । लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

No comments: