प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्‍याउने बताएका छन् । 






बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग दाहालले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन् ।

बारका अध्यक्ष घिमिरले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउन बारले माग गरेको थियो । भेटमा अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने बताएका थिए ।


अघिल्लो वर्ष फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेपछि सर्वोच्चको नेतृत्व कामुको हातमा पुगेको थियो । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ ।

No comments: